बैतडी :
बैतडीको पाटनमा ल्याण्ड पुलिङको काम अघि बढ्न नसकेको सन्दर्भमा त्यसको काम अघि बढाउन सहयोग समिति गठन गरिएको छ । पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराको संयोजकत्वमा सहयोग समिति गठन गरिएको पाटन नयाँ शहर आयोजना कार्यालयका सूचना अधिकारी रोहितराज भण्डारीले बताए ।
शुक्रबार सरोकारवालाहरुको बैठकले बोहराको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले ल्याण्ड पुलिङको काममा देखिएको समस्या समाधान गरेर नयाँ शहर आयोजनाको कामलाई अघि बढाउने म्याण्डेड पाएको छ । जग्गा एकीकरण अर्थात ल्याण्ड पुलिङमा देखिएको समस्या समाधानका लागि नगरबासीहरुसंग छलफल गरेर समाधान निकाल्ने नगर उपप्रमुख एवं समितिका संयोजक कमलसिंह बोहराले बताए ।
मन्त्रालयको टोलीले नगरपालिकाका विभिन्न क्षेत्रमा ल्याण्ड पुलिङका लागि प्रारम्भिक अध्ययन गरेको छ । ती ठाउँका नागरिकहरुसंग छलफल गरेर समस्याको समाधान गर्ने बोहराले बताए । उनले ‘प्रभावित क्षेत्र बिष्टेउडा, डोबरा र भट्टाटका स्थानीयसँग आवश्यक छलफल गरेर जग्गा एकीकरणको कामलाई अघि बढाउँछौं । यसमा सबै पक्षको सकारात्मक सहयोग रहने आसा गरेका छौं ।’
स्थानीय नागरिकले ल्याण्ड पुलिङका लागि सहमति दिएमा नयाँ शहरको काम अघि बढ्ने कार्यालयका सूचना अधिकारी भण्डारीले बताए । जग्गा एकीकरणका बिषयमा स्थानीयहरुबीच कमजोर बुझाइ रहेकाले यो बिषयमा नागरिकलाई सचेत बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
पाटन नयाँ शहरका लागि जग्गा एकीकरण गर्न पाटन ६ को बिष्टेउडा, डोबरा र भट्टाड टोललाई छनौट गरिएको छ । ल्यान्ड पुलिङको लागि न्यूनतम १५८ रोपनी अर्थात ८ हेक्टर क्षेत्रफलको जमिन आवश्यक पर्दछ ।
ल्यान्ड पुलिङ भनेको निश्चत जग्गा छनौट गरिएका व्यक्तिहरूको जमिनमा व्यवस्थित बसोबासका लागि खानेपानीको संरचना, शौचालय, सडक पूर्वाधार, ढल निकास, बाटो निर्माण लगायतका पूर्वाधार निर्माण गरिदिने कार्य हो । यसका लागि जग्गाधनीले उक्त पूर्वाधार निर्माणका लागि सीमित अवधिसम्म छनौट गरिएको जग्गा नयाँ सहरी विकास आयोजनाको कार्यालयको नाममा दिनु पर्ने हुन्छ । त्यहाँ आवश्यक संरचना निर्माण गरिसकेपछि त्यो जग्गा जग्गाधनीलाई नै फिर्ता गरिदिने सूचना अधिकारी भण्डारीले बताए ।