डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा दोस्रोपटक नियुक्त भएका करुणाकर ओझाले आज पदभार ग्रहण गरेका छन्। उनलाई अस्पतालका कर्मचारीले स्वागत गरेका थिए। ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका अध्यक्ष ओझासहित सदस्यहरु देवकी भट्ट र जनकबहादुर मल्लले पनि आजै पदभार ग्रहण गरेका छन्।
उक्त पदभार ग्रहण कार्यक्रममा बोल्दै ओझाले पहिलेजस्तो नम्र भएर अब काम नगर्ने बताएका छन्। अस्पतालका कर्मचारीबाट हुने गरेका गल्तीलाई व्यवहारिक भएर नहेर्ने उनले बताए।
गत वैशाख १७ गते प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री स्तरको निर्णयबाट लक्ष्मण सिंहलाई डडेल्धुरा अस्पतालको अध्यक्षमा मनोनीत गरेको भन्दै मन्त्रालयबाट पत्र आएको थियो।
उक्त पत्रअनुसार सिंहलाई वैशाख २३ गतेबाट लागू हुनेगरी अध्यक्षमा मनोनीत गरिएको थियो। उनीसँगै तेज साउदलाई अस्पताल विकास समितिको सदस्यमा मनोनीत गरिएको थियो।
उक्त पत्र अस्पताल पुगेपछि सिँहले जेठ ३ गते पदभार ग्रहण गरेका थिए। तर, सोही दिन स्वास्थ्य मन्त्रालयबाट उनको पद बदर गरिएको भन्दै अर्को पत्र अस्पताल पुगेको छ। उनको ठाउँमा अस्पतालका निवर्तमान अध्यक्ष करुणाकर ओझालाई नियुक्त गरिएको थियो।