बैतडी : बर्षायाममा समेत बैतडीको पाटन बजारमा खानेपानीको हाहाकार भएकाे छ । पाटन बृहत खानेपानी योजनाकाे मोटर, टान्समिटर लगाएतका उपकरणमा समस्या आएपछि १० दिनदेखि धारामा पानी आउने छोडेको हाे । पाटन बजार क्षेत्र र आसपासका गाउँमा खानेपानीको समस्या भएको स्थानीय जनक बिष्टले बताए । स्थानीय पुरानो पाटन बजार खानेपानी समेत बन्द भएपछि इलका प्रहरी कार्यालय लगायतका सरकारी कार्यालय पनि मारमा परेका छन् ।
करिब १९ करोड ७० लाख बढी खर्च गरेर सुर्नया नदीको पानी पाटन बजारमा लिफ्ट गरेर ल्याएको छ । तर निमार्ण कम्पनीको रकम र्तिन नसकेर योजना उपभोक्तालाई हस्तान्तरण भएको छैन् । योजना निमार्ण कम्पनीले हस्तातरण नगरेपछि बेला-बेला आएको उपकरणमा खराबी कसले मर्मत गर्ने भन्नेमा समस्या हुने गरेको छ ।
१० दिन पहिले बिग्रिएको पानी तान्ने मोटर अहिले मर्मत भएपनि फेरी मुलकै अन्य उपकरणमा समस्या आएको उपाभोक्ता समितिका सदस्य केशब खत्रीले बताए ।
उनले भने, ‘एउटा समस्या समाधान भएको थियो अर्को समस्या देखियो, दक्ष मिस्त्री समेत धनगढी नेपालगञ्जबाट बोलाउनु पर्छ, अहिले पनि मर्मतमै छौँ। अब बन्छ की भन्नेमै छौँ। ’
पाटनमा डेरा गरेर बस्ने विद्यार्थी, व्यवसाय गर्ने व्यापारी र कर्मचारीहरुले पानीको अभाव झेलीरहेका छन् भने होटेल व्यवसायीहरुलाई निकै समस्या हुने गरेको छ । पानीको समस्या टाढा टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रही आएको होटेल व्यवसायी डम्मरसिंह महराले बताए ।
उनले भने ‘ बर्षातको समयमा खोलाको पानी ल्याउन पनि समस्या छ, पानीकै कारण व्यवसाय धरापमा पर्ने अवस्था आएको छ ।
देशकै १० औं नमूना शहरको रुपमा विकसित गर्ने भनिएको पाटनमा सुख्खायाममा जहिले पनि पानीकै अभाव हुने गरेको थियो तर अहिले बर्षातमा समेत पानीको हाहाकार नै भएको छ ।
पाटनमा खानेपानीको समस्या समाधानका लागि पाटन शहर बृहत खानेपानी योजना आफु अलमलमा परेको छ । स्थानीय सरकार पाटन नगरपालिकाले जनश्रमदान मार्फतको रकम बर्ष बर्ष ५० लाख देखी १ करोड सम्म दिने गरेको छ । तर पानी पुर्णरुपमा सञ्चालनमा आउन सकेको छैन् ।
२०७७ असार मसान्तमा सक्ने लक्ष्यका साथ २०७५ सालमा खानेपानी योजनाको निर्माण कार्य शुरु भएको थियो । तर लक्ष्य भन्दा ४ बर्ष बढी हुन लाग्दा समेत खानेपानी योजना पूर्णरुपमा सम्पन्न हुन सकेको छैन् । सुर्नया नदीबाट पानी तान्न २५ हर्स पावरका दुईवटा मोटर जडान गरिएको छ । खानेपानी भण्डार, निर्मलीकरण र वितरण गरेर पाँचवटा ट्याङ्की निर्माण गरिएको छ ।
८० हजार लिटरको एक ट्याङ्की, ६० हजार लिटरको दुईवटा र ५० हजार र ४० हजार लिटरका एक÷एक गरी जम्मा पाँचवटा ट्याङ्की निर्माण भएका निर्माण व्यवसायीले बताए । ठेक्कामार्फत हुने सबै काम पूरा भईसकेको छ । खानेपानी आयोजनाको कार्यालय र सुरक्षा गार्ड बस्ने घर र बाटोको काम पनि सम्पन्न भएको जनाइएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानीमा खानेपानी निमार्ण भएको हो । यसको केही प्राविधिक पक्ष कमजोर भएकाले बेला बेला समस्या आउने गरेको प्राविधिकहरुको भनाई छ ।