पशुपति कोटीहोममा बैतडीका आचार्य कृष्ण दमाइबाट प्रवचन

मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन्।

संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले शुक्रबार प्रवचन दिएका हुन । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए।

प्रवचनका क्रममा आचार्य कृष्णले भने, ‘संस्कृत साहित्य लगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु। मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु ।’

उनले कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको धारणा राखे। ‘दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा आजको यस ऐतिहासिक कोटीहोममा थप बल पुगेको छ । मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन ।’

सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनुपर्ने धारणा राख्दै आचार्य कृष्णले धार्मिक रूपमा विभाजित गर्ने प्रवृत्तिबारे समेत सचेत रहनुपर्नेमा जोड दिए । उनले अगाडि भने, ‘हामीलाई विभाजित गरी सनातन धर्म संस्कारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ । त्यसैले हिन्दूत्व र सनातन धर्मका लागि एकताबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउन र सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरूरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नुपर्छ ।’

मानवसेवा फाउण्डेशनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले नेपालमा नयाँ युगको सुरुआत भएको जिकिर गरे । उनले भने,‘दमाइ परिवारबाट आचार्य गर्नुभएका कृष्णलाई व्यासमा राखेर अभिनन्दन गरेका छौँ र हामीलाई गर्व लागिराखेको छ, उहाँले निकै गहकिलो प्रवचन दिनुभयो । यो छुवाछूतविरुद्धको ठूलो क्रान्ति हो । बोलीले मात्र होइन व्यवहारले नै सामाजिक विभेद् हटाउनुपर्छ । त्यसैले यो एउटा नयाँ युग र नयाँ क्रान्ति हो ।”

कञ्चनपुरको भीमदत्त नगरपालिका–३, तिलकपुरका उनले शैक्षिक यात्राका क्रममा २०६४ एसएलसी गरेका थिए । त्यसपछि संस्कृत साहित्यमा आचार्य गरेका उनलाई पशुपति कोटीहोम तथा नेपाल माहात्म्य परिवारले सम्मान प्रदान गरेको हो ।

कृष्ण दमाई पहिलो व्यक्तिका रुपमा दलित समुदायबाट पण्डित बनेर कोटीहोमको व्यासमा बसे । ‘मलाई यो क्षेत्रमा पुर्‍याउने गुरुहरुप्रति आभार प्रकट गर्छु । एउट शुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्ममा ल्याउने आदरणीय गुरूहरूमा नमन गर्छु’, उनले भनेका छन्, ‘मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरा लागि नेपालको राष्ट्रदेव पशुपतिको चरणमा स्वर्ग महसुस भएको छ । मैले यहाँ स्वर्ग प्राप्त गरेँ ।’

उनले ईश्वरदत्त भट्टलाई महान् गुरुको संज्ञा दिए । उनैले आफूलाई शारदा विद्यापीठ महेन्द्रनगरको संस्कृत विद्याश्रममा पठाएको बताए । भाषा उत्तीर्ण गरेपछि छात्रवृत्तिमा सोचेको ठाउँमा पढ्न सक्ने भनेर आफूलाई बाटो देखाएको उनले बताए ।

‘धेरैले अनेक कुरा सुनाए । दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्न लाग्यो पनि भने । तर मलाई भट्ट गुरुले धेरै कुरा सिकाएर जानुभएको छ’, उनले भने, ‘मैले कर्मकाण्ड गर्न होइन, आफ्नो विद्वता बढाउन, सनातनका लागि, जन्मभूमिका लागि केही दिन पढेको छु ।’

उनले आफ्नो साथमा आमाबुवा नरहेको पनि सुनाए । उनकाअनुसार १२ मा पढ्दै गर्दा आमा बितेकी थिइन् । त्यसको ८ वर्षपछि २०७८ मा बुवा पनि बितेको उनले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.