बैतडी : सुदूरपश्चिम र कर्णालीमा आज गौरा एकादशी पर्व मनाइँदैछ । हरेक बर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । आजको दिन गौरा उपासना गर्ने महिलाहरुले ब्रत बस्ने गर्दछन् ।
गौरा पर्व उपासना गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा रही आएको छ । पहिलो पटक गौराको ब्रत लिने महिलाहरुले अनिवार्य रुपमा गौरा एकादशीको ब्रत उपासना गर्नुपर्ने परम्परा छ ।
गौरा उपासना गर्ने महिलाहरुले आज ब्रत बसेर साँझको समयमा पूजाआजा गर्ने चलन रही आएको छ । गौरामा दुवधागो धारण गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीबाटै गौरा पर्व शुरुवात भएको मान्ने गरिएको छ ।
गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मात्रै गौरा पर्व मनाउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । उनले भने ‘गौराको ब्रत लिनु अघि गौरा एकादशीको ब्रत लिने परम्परा रही आएको छ ।’
पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत लिने चलन रही आएको छ। श्रावण शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई नै गौरा एकादशीको रुपमा मान्ने गरिएको छ । सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिका लागि गौरा पर्व मनाइने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा मान्ने गरिएको आचार्य लेखकले बताए । यो एकादशीको महत्वका बारेमा देवकी र वासुदेवलाई लोमष ऋषिले सुनाएका प्रसंग पूराणहरुमा उल्लेख गरिएको छ । यो एकादशीको ब्रत उपासना गरेमा सन्तान प्राप्ति हुने जनविश्वास रही आएको छ । गौरा पर्वमा पनि सन्तान सुख र पारिवारिक कल्याणका लागि महिलाहरुले ब्रत लिने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशी भनिएको छ ।
हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथीबाट गौरा पर्व शुरु हुने गर्दछ । त्यो भन्दा अगाडि साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत बस्ने चलन रही आएको हो ।
भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ । यो बर्ष भाद्र कृष्ण पक्षमा गौरा परेको छ । यो बर्षको गौरा भदौ ७ गतेदेखि शुरु हुँदैछ ।
गौरालाई सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन्। संघीय राजधानी काठमाडौंमा पनि सुदूरपश्चिम र कर्णालीका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो।
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशी बताउँछन्।
गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तितेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको प्रतिमूर्ति बनाउने गरिन्छ। यसरी बनाइएको देवीको प्रतिमूर्तिलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा छ।
यो पर्वका लागि श्रावण शुक्ल पञ्चमीका दिन केराउ, जौँ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ। जसलाई बिरुडा भनिन्छ। अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ। भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ। पाँच किसिमका गेँडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ।
गौरा घरमा गौरा भित्र्याएपछि २–३ दिनसम्म विभिन्न विधिसहित पूजा गरिन्छ। त्यसपछि मंगलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा पवित्र स्थलमा लगेर सेलाइन्छ। देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ।