बैतडी : गत आर्थिक बर्ष २०८०/८१ समयमै विद्युत महसुल नबुझाउने बैतडीका ६ सय ९२ ग्राहकको लाइन काटेको छ । लामो समयदेखि विद्युत महसुल नबुझाएका ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।
६ सय ९२ ग्राहकको लाइन काटेर ५६ लाख ३४ हजार ५८३ रुपैयाँ राजस्व संकलन गरिएको उनले बताए । ९३ सरकारी कार्यालय, तीन पार्टी कार्यालय र अन्य ५ सय ९६ ग्राहकको लाइन काटिएको थियो ।
लाइन काटिएका मध्ये महसुल बुझाउने ४ सय ९९ ग्राहकको लाइन फेरि जोडिएको छ भने लाइन काटेर पनि महसुल नबुझाउनेहरुको लाइन जोड्न बाँकी रहेको उनले बताए ।
नेपाल विद्युत प्राधिकरणले मिटर रिडिङ भएको ६० दिनभित्र महसुल तिरिसक्नुपर्ने व्यवस्था गरेको छ । विद्युत महसुल समयमा बुझाउन समेत आफूहरुले ग्राहकहरुलाई आग्रह गर्ने गरेको प्रमुख पौडेलले बताए ।
बैतडीको जस्तो पहाडी जिल्लामा लामो समयदेखि संकलन हुन नसकेको विद्युत महसुल संकलनमा महत्वपूर्ण योगदान पुर्याएकाले कार्यालय प्रमुख पौडेल सम्मानित समेत भएका छन् ।