बैतडी:
बैतडीको पाटन नगरपालिका-८ मा महिलाहरूका लागि अचार गुन्द्रुक बनाउने सीपमुलक तालिम सुरु भएको छ । आइतबार देखी नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा सञ्चालनमा रहेका महिला कृषक सहकारीमा आवद्ध महिलाहरूका लागि अचार गुन्द्रुक बनाउने तालिम सुरु भएको वडाअध्यक्ष हरिश बिष्टले बताए । महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाको आयोजनामा ७ दिने तालिम आजदेखि सञ्चालन भएको वडाअध्यक्ष बिष्टले जानकारी दिए ।
नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ । यसअघि नगरपालिकाले दुना टपरी बनाउने तालिम सञ्चालन गरेको थियो । आइतबारदेखि सञ्चालन भएको अचार गुन्द्रुक बनाउने सीपमुलक तालिममा तीनै वटा वडाबाट सहकारीमा आवद्ध ३० जना महिलाहरूको सहभागिता रहेको पाटन नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारीले जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पाटन नगरपालिकाका नगरप्रमुख गौरी सिह रावलले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्नुपर्ने बताए । नगरपालिका र वडा कार्यालय उत्पादित बस्तुको बजारीकरण गर्न आर्थिक सहयोग तथा अन्य सहयोगका लागि सधै तयार रहेको नगरप्रमुख रावलले जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख रावलसहित , वडा नम्बर ८ का अध्यक्ष हरिश बिष्ट, वडा नम्बर १० का अध्यक्ष धनबहादुर कुवँर, महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारी लगायतको उपस्थिति रहेको थियो ।