बैतडी :
बैतडीको पाटन नगरपालिकाको दोश्रो नगरसभा विभिन्न कार्यक्रम, निति तथा कार्यविधि पास गर्दै बुधबार सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख गौरीसिंह रावलको अध्यक्षतामा सम्पन्न भएको सभाले विभिन्न निर्णयहरु पारित गरेको छ ।
सभामा नगरपालिकाले चालु आर्थिक बर्षमा सम्पादन गरेका कार्यक्रमहरुको बारेमा सभालाई जानकारी गराएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । नगरपालिकाका बिषयगत शाखाहरुमार्फत सञ्चालन भएका क्रियाकलापको बारेमा समग्र रुपमा सभालाई जानकारी गराएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । उनले भने ‘सभामा नगरपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका कार्यक्रमहरुको समीक्षा गरिएको छ । कार्यप्रगतिका बिषयमा सभासदस्यहरुलाई जानकारी गराइएको छ ।’
यस्तै नगरकार्यपालिकाले विभिन्न समयमा गरेका निर्णयहरुलाई अनुमोदन गर्दै सभाले पारित गरेको उनले बताए । नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार कार्यपालिकाले गरेका निर्णयहरुलाई सभाले पारित गरेको उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए ।
यस्तै नगरपालिकाभित्र सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अनुमोदन समेत गरिएको छ । संघीय सरकारको सशर्त बजेटबाट सञ्चालनमा रहेको कार्यक्रमलाई सभाले अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।