डडेल्धुराकी ३१ वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्या

धनगढी :  डडेल्धुराको अमरगढी नगरपालिका–२ घर भई धनगढी उपमहानगर–४ बस्दै आएकी ३१ वर्षीया विमा थापामगरको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको छ ।

०८० मंसिर ६ गते धनगढी उपमहानगरपालिका–६ स्थित सरस्वती सामुदायिक वनमा उनको शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा विमाको बलात्कारपछि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो । धनगढी–५ का २८ वर्षीय सञ्जीव चौधरी र ३० वर्षीय जनक देउवा उनको हत्यामा संलग्न रहेको खुलेको छ ।

शनिबार चौधरीलाई धनगढीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट र देउवालाई उनकै घरबाट पक्राउ गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कवीन्द्रसिंह बोहराले बताएका छन् । उनीहरू दुवै जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार ०८० कात्तिक २९ गते राति सञ्जीवले फोन गरेर विमालाई साथी जनक देउवाको घरमा बोलाएका थिए । विमाको जनकसँग भने चिनजान थिएन । त्यहाँ सुरुमा उनीहरूले लागूऔषध सेवन गरे । लागूऔषध सेवनपछि दुवैले विमालाई सामूहिक रूपमा बलात्कार गरेका थिए ।

बलात्कारपछि उनलाई कुटपिट गरेका थिए । ‘चौधरी र देउवाले ०८० कात्तिक २९ गते राती लागूऔषध सेवन गरी सामूहिक रूपमा शारीरिक सम्पर्कपछि कुटपिट गरेका थिए,’ जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले भने, ‘दोस्रो बिहान उनी बेहोस अवस्थामा भेटिएपछि दुवै जनाले स्कुटरमा राखेर सामुदायिक वनमा फालेका थिए ।

जनकले स्कुटर चलाएका थिए भने बिमालाई बीचमा राखेर सञ्जीवले पछाडिबाट समातेर लिएका थिए ।’ उनीहरूले लागूऔषधबाट मृत्यु भएको देखाउन घटनास्थलमा केही लागूऔषध समेत फालेको प्रहरीको भनाइ छ ।

घटनाको एक सातापछि विमाको शव भेटिएको थियो । बिमाका बुवा खनबहादुर थापामगरले कैलाली प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएर ०८० मंसिर १० गते विमाको शव बुझेर सद्गत गरेका थिए ।

प्रहरीले बिमाको मोबाइल र सीमकार्डका माध्यमबाट अभियुक्त पहिचान गरेको थियो । अनुसन्धानका क्रममा सञ्जीवकी श्रीमतीबाट प्रहरीले मृतक विमाको मोबाइल बरामद गरेको थियो । त्यसक्रममा सञ्जीव भागेर भारतमा बस्दै आएको जानकारी भएपछि प्रहरीले सञ्जीवकी श्रीमतीमाथि निगरानी गर्दै आएको थियो । शनिबार सञ्जीवकी श्रीमती भारत जान थालेको जानकारीपछि प्रहरी टोलीले उनलाई पछ्याएको थियो । त्यसै क्रममा सीमा क्षेत्रबाट सञ्जीवलाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । कान्तिपुरबाट

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.