बैतडी: जग्गातादाले नै गरे स्वास्थ्य केन्द्रमा तालाबन्दी, सम्झौता कार्यान्वयन माग

बैतडी: बैतडीको मेलौली नगरपालिका–१ हरिचनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि जग्गा दान गरेका परिवारले मंगलबार  स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन् ।

२०७६ सालमा स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि अढाई रोपनी जग्गादान गरेका हरिराम लुहारको परिवारले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेको हो ।

आधारभूत स्वास्थ्य केन्द्रलाई जग्गा उपलब्ध गराउँदा परिवारको एकजनालाई रोजगारी दिने सम्झौता गरिएको थियो । उक्त सम्झौता कार्यान्वयनका लागि बारम्बार आग्रह गर्दा समेत बेवास्ता गरिएपछि तालाबन्दी गरिएको हरिराम लुहारका छोरा देव लुहारले जानकारी दिनुभयो ।

रोजगारी दिने सम्बन्धी भएको सम्झौताका बिषयमा नगर प्रमुख भीमबहादुर चन्दलाई भेट्दा समेत वेवास्ता भएपछि आफूहरुले तालाबन्दी गरेको लुहारले बताउनुभयो।

आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी भएपछि स्वास्थ्य सेवा अवरुद्ध भएको छ । केन्द्रले दिने सबै सेवाहरु अवरुद्ध भएको केन्द्रकी प्रमुख अनमी सीता बिष्टले जानकारी दिइन् ।

जग्गादाताको परिवारमध्ये एकजनालाई रोजगारी दिने विषयमा सोमबारको कार्यपालिका बैठकमा छलफल भएको भएको तर टुंगो लाग्न नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले जानकारी दिनुभयो।

हरिराम लुहारको परिवारले स्वास्थ्य केन्द्रलाई जग्गा उपलब्ध गराएको भएपनि नामसारी भने नभएको खुलेको छ । नामसारी नभएकै जमीनमा आधारभूत स्वास्थ्य केन्द्रको चार कोठे भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ । हरिराम लुहारको नाममा भएको जमीन आधारभूत स्वास्थ्य केन्द्रको नाममा नामसारी गरेर मात्रै संरचना बनाउनुपर्ने भएपनि त्यसो नगरेको पाइएको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!