बैतडी:
बैतडीमा लागु औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका जना छन् । पाटन नगरपालिका–४ खोल्सी घर भएका २१ वर्षीय रनेश बिक पाटन नगरपालिकाकै वडा नं ६ स्थित सुर्नया गाडको पुल नजिकबाट गएराती १२ः३० बजेको समयमा पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश साउँदको नेतृत्वमा खटिएको टोलीले बिकलाई २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।
‘बिकलाई सो परिमाणको खैरो हिरोइनजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएका छौँ,’ प्रहरी निरीक्षक ढुंगानाले भने ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरक्षक ढुंगानाले बताए ।
लागु औषध नियन्त्रणको लागि प्रहरीले निगरानी बढाइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिए । ‘हामि विभिन्न प्रक्रिया अवलम्बन गरी लागु औषध नियन्त्रणको लागि प्रयास गरिरहेका छौँ,’ प्रहरी निरीक्षक साउँदले भने ।