डडेल्धुरा:
जिल्लाका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका छन् । गन्यापधुरा गाउँपालिकाबाट सुरुवात गरिएको घोषणा कार्यक्रम अहिलेसम्म ४ वटा पालिकामा सम्पन्न भइसकेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउँदले जानकारी दिए । उनका अनुसार गन्यापधुरा गाउँपालिकापछि भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिकामा घोषणा गर्न बाँकी रहेको साउँदले बताए । उक्त पालिकामा पनि घोषणा गर्ने तयारी भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख तथा पूर्ण खोप जिल्ला समुन्वय समितिका संयोजक गगनसिंह भण्डारीले अहिलेसम्म घोषणा गरिएका पालिकामा उत्कृष्ट काम भएकोमा स्वास्थ्य स्वयमसेवीका र स्वास्थ्यकर्मी लगायतको भूमीका महत्वपूर्ण रहेको बताए ।
पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु पर्दछ । सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ । बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ । नियमित खोपबाट छुटेका बालबालिकालाई माघदेखि बैशाखसम्म खोज र खोप अभियान चलाउने गरिएको छ । छुटेका बालबालिकालाई अभियानले समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ ।