धनगढी : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आफ्नो गृह प्रदेश पुगेका छन् । उनी आज काठमाण्डौबाट कैलालीको धनगढी पुगेका छन् । डडेल्धुरामा राखिएका ७ दिने कार्यक्रमहरुका लागि देउवा सुदूरपश्चिम प्रदेश पुगेका हुन् ।
धनगढी बिमास्थललाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह लगायतका नेता तथा कार्यक्रमताले स्वागत गरे । देउवाले राष्ट्रिय स्वतन्त्र पार्टले गरिरहेको आन्दोलनको औचित्य नभएको बताएका छन् । धनगढी बिमास्थलमा कुरा गर्दै देउवाले रास्वपाले अदालती प्रक्रियामा भएको विषयमा स्वतन्त्र न्यायपालिकाले कानुन बमोजिम आफ्नो काम गर्न दिनुपर्ने बताए ।
उनले भने ‘अन्य सरकारका पनि नेता, कार्यकर्ताहरू समातिएका छन् तर हामीले कहिल्यै होहल्ला गरेनौँ ।’
उनले सहकारी अपचलनमा दोषी देखिएका जुनसुकैलाई अदालती प्रक्रिया अनुसार कारबाही हुने बताए । देउवाले सहकारी प्रकरण अदालतको प्रक्रिया अनुसार अगाडि बढिरहेकाले यसलाई पूर्वाग्रहका रूपमा हेर्न नहुने धारणा राखे ।
उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाइएको गठबन्धन दीर्घकालीन रूपमा टिक्ने बताए । यस गठबन्धनले आफ्नो कार्यकाल पूरा गर्ने दाबी समेत गरेका छन् ।