बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ । जगन्नाथ लगायतका मठमन्दीरमा जात्रा लाग्ने भएकाले नगर क्षेत्रमा सार्वजनिक विदा दिइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दका अनुसार नगरपालिकाभित्र पर्ने सबै शैक्षिक संस्था, वडा कार्यालय र नगरपालिकाको कार्यालय शुक्रबार बन्द हुने छ ।
जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
मेलौली नगरपालिका–१ स्थित प्रसिद्ध मेलौली भगवती जात्राको अवसरमा नगर क्षेत्रभरी सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । आज र भोलि नगरक्षेत्रभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्थामा बिदा रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन चन्द्र पाण्डेयले बताए ।
Atrya hospital
मेलौली भगवतीको जात्रामा स्थानीयहरुको उल्लेख्य सहभागिता रहने र यो क्षेत्रको प्रसिद्ध जात्रा भएकाले हरेक बर्ष जस्तै यो बर्ष पनि बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
यस्तै शिवनाथ गाउँपालिकाले गाउँपालिकाको वडा नं –४ स्थित प्रसिद्ध देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा आज र भोलि दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको जनाएको छ ।
उक्त जात्रामा स्थानीयहरुको उल्लेख्य सहभागितालाई दृष्टिगत गरेर कार्तिक ८ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार आज र भोलि दुई दिन पालिकाभरी सार्वजनिक बिदा रहेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।