ललित बोहरा, बैतडी : बैतडीका कृषकहरुलाई असल पशुपालन अभ्यास सम्बन्धि तालिम दिइएको छ । जिल्लाका पशुपालक कृषकलाई बुधबार एकदिने असल पशुपालन अभ्यास स्वच्छ दुध, माछा, मासु, अण्डाको प्रयोग सम्बन्धी तालिम दिएको हो ।
यहाँका कृषकलाइ कृषि फर्म भित्र रोग लाग्न नदिने जैविक सुरक्षा लगायतका बिषयमा तालिम दिइएको आयोजक भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडी प्रमुख गुमानी पन्तले बताए ।
पशुपन्छीमा रोग लाग्न नदिन अपनाइने विधि तथा रोग लागेमा के गर्ने लगायतका बिषयमा तालिममा प्रशिक्षण दिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका सूचना अधिकारी डा.विशाल पाठकले बताए ।
उनले भने, ‘पहिले त रोगहरुबाट फर्मलाई जोगाउनुस, त्यसपछि कृषकहरुले पशुपन्छि विक्रि योग्य भएका बिक्रि गरिदिनु, मासु पसलहरु सरसरफाई गर्नु लगायतका बिषयमा आज तालिम दिएका छौँ।’
डा. पाठकले प्रयोग गर्न योग्य मासु, दुध, माछा लगायतका बिषयमा समेत कृषकसंग बृहत छलफल गरेको बताए । देशका अन्य जिल्लामा भएका असल अभ्यासका भिडियो समेत देखाएर कृषकलाई सचेत गराउने काम भएको उनले बताए ।
तालिमका अध्यक्ष तथा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडी प्रमुख गुमानी पन्तले आलिदेखि थालिसम्म मासुजन्य तथा दुधजन्य चिजलाई सक्रमणबाट जोगाउन चुनौती रहेको बताए ।
उनले कृषक र उपभोक्ता सचेत रहे जुनसुकै पशुपन्छीबाट मानिसमा सजिलै सर्ने रोगहरुबाट समेत बच्न सकिने बताए ।
भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीले पशुपंक्षीबाट मानिसमा सर्ने रोग (जुनोटिक रोग) हरुका बिषयमा समेत यहाँका भेटेनरी प्राविधिकसहितका सरोकारवालाहरुलाई तालिम दिएको जनाएको छ ।
नेपालका जुनोटिक रोगको प्राथमिकताको पहिलो स्थानमा इन्फ्लूएन्जा (जुनोटिक इन्फ्लूएन्जा, सिजनल इन्फ्लूएन्जा), दोस्रोमा रेबिज, तेस्रोमा कोरोना भाइरस (सार्स,मर्स, सार्स कोभ २), चौथोमा लेप्टोस्पाइरोसी र पाँचौंमा ब्रुसेलोसिस रहेको छ । त्यस्तै छैटौंमा सालमोनेलोसि, सतौंमा लेस्मिनियासिस, आठौंमा जुनोटिक क्षयरोग, नवौंमा सिस्टिसर्कोसिस÷हाइडाट्रिोसिस र दशौंमा टोक्जोप्लास्मोसिस रहेको डा. पाठकले बताए ।

यी रोग समुदायमा संक्रमण फैलाउन सक्ने जुनोटिक रोग भएकाले समेत रहन कृषकलाई उनले आग्रह गरे ।
पशुपन्छीबाट मानिसमा सजिलै सर्ने रोगलाई जुनोटिक रोग भनिन्छ । पशुपन्छीसँगको लसपस, दूध, दही, मासु र हावाको माध्यमबाट यो रोग मानिसमा सर्ने डा. पाठकको भनाई छ ।

