काठमाडौं:
पशुमा लाग्ने लम्पीस्किन रोग २०७७ मा मोरङबाट फैलिन सुरु भएको थियो। अहिले नेपालका ७६ वटा जिल्लामा फैलिसकेको छ। ७६ वटै जिल्लामा ६ लाख ८२ हजार ८० पशुहरु सो रोगबाट संक्रमित भएको नेपाल पशुसेवा विभागका प्रवक्ता तथा वरिष्ठ पशुसेवा अधिकृत चन्द्र ढकालले बताए।
‘नेपालमा ०७७ साल असार महिनामा मोरङको सुन्दरहरैचाका गाईहरुमा पहिलोपटक यो रोग देखा परेको थियो। त्यसपछि गत चैत महिनामा कोशी प्रदेशबाट माहामारीको रुपमा ७६ जिल्लामा फैलिसकेको छ,’ उनले भने, ‘०७७ पछिका २ वर्षमा १६ जिल्लाका २९ पालिकामा यो रोग फैलिएको थियो। त्यतिबेला ३ हजार ३०१ पशु संक्रमित हुँदा १३ वटा पशु मरेका थिए।’
अहिले कूल संक्रमितमध्ये ४ लाख ९ हजार १७५ निको भइसकेका छन् भने २५ हजार ४०८ पशु मरिसकेका छन्। यस्तै २ लाख ७४ हजार ४९७ वटा पशु अझै संक्रमित रहेको उनले बताए। पशुमा लम्पीस्किनको संक्रमण तथा मृत्यूबाट ३३ अर्ब बढी नोक्सानी भएको ढकालले बताए।
लम्पी स्किनले मरेका पशुहरुको पशु बीमामार्फत् ८० प्रतिशत क्षतिपूर्ति कृषकले पाउने व्यवस्था छ। ‘पशुको बीमा गरेको भए बीमाबापतको रकम ८० प्रतिशत क्षतिपूर्ति किसानले पाउने छन्। अहिले सबैतिर बीमा पुगिसकेको अवस्था छ। बीमा नगरेका पशुहरुको भने सरकारले क्षतिपूर्ति दिँदैन,’ ढकालले भने।
आगामी आर्थिक वर्ष ०८०/८१ का लागि प्रत्येक पालिकामा महामारी नियन्त्रण गर्न संघीय सशर्त अनुदानअन्तर्गत १ लाखका दरले रकम विनियोजन गरिएको ढकालले बताए। साथै १६१ पालिकामा भेटेरिनरी डाक्टर र सबै पालिकामा प्राविधिक व्यवस्थापनका लागि बजेट व्यवस्था गरिएको छ।
सुदूरपश्चिम बढी प्रभावित
लम्पी स्किनबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका पशुहरु प्रभावित भएका छन्। यस्तै, कर्णाली, लुम्बिनी र कोशीका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएको ढकालले बताए।
पशुसेवा विभागको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा २ लाख ७ सय ९८ संक्रमितमध्ये १० हजार ९३९ पशु मरेको तथ्यांक छ। कर्णालीमा १ लाख ८९ हजार १५ संक्रमित पशुमध्ये ६ हजार ७४१ पशु मरेका छन्। कोशीमा १ लाख ५४ हजार ५ सय ३२ संक्रमित पशुमध्ये ३ हजार ४६४ मरेका छन्। लुम्बिनीमा ७४ हजार २ सय ८९ संक्रमित पशुमध्ये २ हजार ७८० मरेका छन् भने ८ हजार ५ सय पशुहरुमा लम्पीस्किनविरुद्धको खोप लगाइएको छ।
गण्डकीमा २७ हजार १५ संक्रमितमध्ये ५१७ पशुहरु मरेका छन्। बाग्मतीमा ३१ हजार ३४३ संक्रमितमध्ये ८६६ पशु मरेका छन्। र मधेसमा ५ हजार ८८ संक्रमितमध्ये १०१ पशुहरु मरेका छन्।
अहिलेसम्म ७ लाख ३७ हजार डोज खोप आएको र ७६ जिल्लाका १ लाख ७२ हजार १२८ पशुहरुमा लगाइएको ढकालले बताए।
सुदूरपश्चिम प्रदेशमा ३ हजार पशुहरुमा लम्पीस्किनविरुद्धको खोप लगाएको छ। कर्णालीमा भने १७ हजार ५००, कोशीमा ७२ हजार ४९ पशुहरुमा खोप लगाइएको छ। गण्डकीमा ३२ हजार ६८४, बागमतीमा २८ हजार ६२० पशुहरुमा, भने मधेसमा ९ हजार ७७५ पशुहरुमा लम्पीस्किन विरुद्धको खोप लगाइएको विभागको तथ्यांकमा छ।
उक्त रोगबाट २५ हजार बढी पशुहरु मर्दा साढे ३ महिनामै ३३ अर्ब ५१ करोड रुपैयाँ बराबर नोक्सानी भएको नेपाल पशु चिकित्सा परिषद्का निमित्त रजिस्ट्रार मनोजकुमार शाहीले बताए।
‘करिब ४ लाख पशु निको भए पनि तिनको उत्पादकत्व घटेको छ। संक्रमित पशुबाट ४८ दिनसम्म उत्पादन आउँदैन। गाई तुहिने सम्भावना हुन्छ, बाली लगाउन पाइन्न,’ उनले भने।