ललित बाेहरा, बैतडी : बैतडीमा पनि नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरु गरिएको छ । जिल्लाका स्वास्थ्य संस्थाहरुले अभियानको थालनी गरेको जनाएका छन् ।
नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । जिल्लाको पाटन नगरपालिका ६ मा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्र पाटनको आयोजनामा नसर्ने रोग पहिचानका लागि एक महिने अभियानको शुभारम्भ गरिएको छ ।
अभियानको एक औपचारिक कार्यक्रमका बिच पाटन नगरपालिका नगर प्रमुख गौरीसिह रावलले उद्घाटन गरेको हुन् । पछिल्लो समयमा नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य केन्द्रमा कार्यरत डा. सुरेश बहादुर बिष्टले बताए ।
डा।बिष्टका अनुसार बललिँदो जीवनशैली, बढ्दो सहरीकरण, परिवतर्तित जनसङ्ख्याको अनुपात, जलवायु परिवर्तन जस्ता विविध कारणले नसर्ने रोगको समस्या बढ्दै गएको हो ।
समयमै पहिचान र उपचार नहुँदा उच्च रक्तचापबाट हुने जटिलताहरू जस्तै मस्तिष्कघात, हृदयघात, दीर्घ मिर्गौला रोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठुलो धनराशी खर्च हुनका साथै बिरामीको अल्पायूमै मृत्यु भइरहेको छ ।
जनस्वास्थ्यका रूपमा देखा पर्दै गएको नसर्ने रोगलाई नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मधुमहे, उच्च रक्तचाप, शरीरको उचाइ र तौलको अनुपातको पहिचान गर्न फागुन १ गते अथार्त आज (बिहीबार) बाट नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सुरु गरेको डा. बिष्टको भनाई छ।
उक्त अभियानमा प्रत्येक स्वास्थ्य संस्थामा चार प्रकारका नसर्ने रोग मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण), रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको, उचाइ र तौलको आधारमा बिएमआई मापन निःशुल्क परीक्षण गरिने प्राथमिक स्वास्थ्य केन्द्र पाटनका इन्चार्ज प्रेमसागर भट्टले बताए ।
नेपालमा मृत्यु र अपाङ्गताको मुख्य कारणका रूपमा रहेको नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखी फागुन महिनाभर नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन गरिएको डा. विष्टको भनाइ छ ।
‘समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वास्थ र दीर्घ जीवन बाँचौ’ भन्ने नाराका साथ अभियान देशभरका स्थानीय तहअन्तर्गतका सबै स्वास्थ्य संस्थामा फागुन महिनाभर सञ्चालन गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र पाटन नगर प्रमुख रावलमार्फतले नसर्ने रोगका कारण अपाङगता भएका पाटन नगरपालिका ६ बस्ने ५२ बर्षिया हरि सिह भण्डारीलाई हुइलचियर हस्तान्तरण गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले खरिद गरेर दिएको हुइलचियर भण्डारीलाई दिएको हो ।