डडेल्धुरा : स्थानीय तहको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट स्थानीय तह भएको छ ।
अमरगढी नगरपालिकाले ८१.७ ल्याएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै अजयमेरु गाउँपालिका ६४.८, गन्यापधुरा गाउँपालिका ६१.३, आलिताल गाउँपालिका ५९.७, परशुराम नगरपालिका ५६.३, नवदुर्गा गाउँपालिका ५४.८, भागेश्वर गाउँपालिका ५४.२ अंक ल्याएको छ ।
प्राप्त अंक चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष निवेदन पेस गर्न सकिने जनाएको छ ।
प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्यांकन प्रतिवेदनअनुसार वित्त आयोगको विभिन्न १७ सूचकलाई मध्ययनजर कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व संकलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।
‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८’ का आधारमा मूल्यांकन गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहलाई यस्तो अंक प्रदान गर्ने गर्छ ।
कार्यसम्पादनबाट प्राप्त अंकका आधारमा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।