शिक्षा कुनै डिग्री प्राप्त गर्ने माध्यम मात्र होइन, यो समाज रूपान्तरणको मूल आधार हो।
बैतडीजस्ता दुर्गम क्षेत्रमा शिक्षा अझै पनि अवसरभन्दा चुनौतीको रूपमा देखिन्छ। तर, यही शिक्षा
नै हाम्रो सोच, व्यवहार र जीवनशैली परिवर्तन गर्ने सबैभन्दा ठूलो साधन बन्न सक्छ।
नेपालको संविधानले सबै नागरिकलाई शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ। तर
व्यवहारमा अझै पनि शिक्षामा पहुँच, गुणस्तर र समानताको कमी छ। ग्रामीण भेगका धेरै
बालबालिका विद्यालय जान नपाउने, बालिका छोरीहरूले चाँडै विवाह गर्नुपर्ने, र गरीब परिवारले
पढाइलाई खर्चिलो ठान्ने समस्या विद्यमान छन्। यी समस्याले शिक्षा र विकासबीचको सम्बन्धलाई
कमजोर बनाएको छ।
शिक्षाबाट मात्र मानिसमा चेतना जागृत हुन्छ, जसले जात, लिंग, र आर्थिक विभेदविरुद्धको लडाइँ
लड्न सक्ने आत्मविश्वास दिन्छ। उदाहरणका रूपमा, शिक्षित युवाहरूले गाउँमा सचेतना फैलाउँदा,
भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा, र स्थानीय शासनमा पारदर्शिता माग्दा समाजमा नयाँ सोच पैदा
हुन्छ।
तर, शिक्षा केवल औपचारिक कक्षाकोठासम्म सीमित हुनु हुँदैन। व्यवहारिक र जीवन–कौशल
शिक्षाले युवाहरूलाई रोजगारी र उद्यमशीलता तर्फ उन्मुख गराउन सक्छ। विद्यालय र कलेजहरूले
पुस्तकका सिमित पानाभन्दा बाहिर सोच्न सिकाउनुपर्छ,जसले विद्यार्थीलाई समाजका वास्तविक
समस्याहरू बुझ्न र समाधान खोज्न प्रेरित गर्छ।
शिक्षामा लगानी गर्नु भनेको देशको भविष्यमा लगानी गर्नु हो। स्थानीय तह, अभिभावक र
शिक्षकले मिलेर “सबैका लागि शिक्षा” भन्ने भावना साकार पार्न सके मात्र वास्तविक परिवर्तन
सम्भव छ।
अन्ततः, परिवर्तनका लागि नेतृत्व, कानुन वा नीति पर्याप्त हुँदैन, चेतनशील नागरिक चाहिन्छ। र
चेतनशीलता शिक्षाबाट मात्र आउँछ। त्यसैले, शिक्षा न केवल अधिकार हो, यो हाम्रो दायित्व पनि
हो आफूलाई मात्र होइन, समाजलाई परिवर्तन गर्नका लागि।
रन्जित प्रकाश वड
विद्यार्थी कानून
