बैतडीको सिगासका बिष्टको हत्या आंशकामा साथी पक्राउ, अनुसन्धान जारी

बैतडी : बैतडीको सिगास गाउँपालिकामा खडक बिष्टको रहस्यमय मृत्यु प्रकरणमा हत्या भएको आशंकासहित उनका नजिकका साथीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सिगास गाउँपालिका–१, दुदीलाखान निवासी ३६ वर्षीय पवन चन्दलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो।  बिष्टका आफ्न्तले किटानी जाहिरी दिएपछि चन्दलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार मृतक बिष्ट र पक्राउ परेका चन्द नजिकका साथी हुन्। प्रारम्भिक सोधपुछका क्रममा चन्दले साँझसम्म बिष्टसँगै रहेको र पछि सम्झाएर घर पठाएको बताएका छन्। साँझ पसलमा भेटपछि त्यसपछिको अवस्थाबारे आफूलाई जानकारी नभएको उनको भनाइ रहेको प्रहरीले जनाएको छ।

सोमबार सिगास गाउँपालिका–१ दुदीलाखानका अन्दाजी ३६ वर्षीय खडक बिष्ट आफ्नै घर नजिकै मृत अवस्थामा फेला परेका थिए। आइतबार बिहान घरबाट निस्किएका बिष्ट सोमबार बिहान स्थानीयले घर नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतकको शरीरमा निलडाम देखिएको भन्दै आफन्तले कुटपिट गरी हत्या गरिएको आशंका व्यक्त गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेका छन्।

मृतक बिष्टको शव पोस्टमार्टमपछि आफन्तले बुझिसकेका छन्। घटनाबारे इलाका प्रहरी कार्यालय पाटन, बैतडीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!