चैत्रमै मुख्यमन्त्री बन्ने दौडमा प्रकाश देउवा, सुदूरपश्चिम कांग्रेसमा विवाद

धनगढी : ‘सुदूरपश्चिम सरकारको मुख्यमन्त्री म हुँ । अहिले मेरो नेतृत्वमा सरकार छ । सरकार मैले चलाउने हो । बाहिर अर्को सरकार चलाउने कुचेष्टा कसैले नगरे हुन्छ,’ मुख्यमन्त्री कमलबहादुर शाहले २ फागुनमा दिएको अभिव्यक्ति हो यो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रदेश नीति तथा योजना आयोगका सदस्यको शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाहले यस्तो अभिव्यक्ति दिएका थिए । उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सत्ता साझेदार दल नेकपा एमालेका दल नेता राजेन्द्र सिंह रावल, पूर्वमन्त्री तथा कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा लगायत सहभागी थिए । मुख्यमन्त्रीको त्यो अभिव्यक्ति प्रकाशबहादुर देउवाप्रति लक्षित थियो भनेर बुझ्न मुस्किल थिएन ।

देउवाकै जोडबलमा कार्यविधि नै संशोधन गरेर कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार प्रदेश नीति तथा योजना आयोगको सदस्य बनेका थिए । त्यसका लागि देउवाले नाताले काकी पर्ने परराष्ट्रमन्त्री आरजु राणा देउवामार्फत मुख्यमन्त्रीमाथि दबाब सिर्जना गरेको कांग्रेस नेताहरू बताउँछन् । माघ अन्तिम सातातिर कैलाली आइपुगेकी आरजुले मुख्यमन्त्री शाहलाई आफू यतै भएका बेला ऐन संशोधन गरेर भए पनि सुनारलाई आयोगको सदस्य नियुक्त गर्न भनेकी थिइन् ।

कांग्रेस नेताहरूका अनुसार मुख्यमन्त्री शाहले सुरुदेखि नै प्रकाश देउवाको असहयोगका कारण काम गर्न असहज महसुस गर्दै आएका थिए । कांग्रेसभित्र शाह मुख्यमन्त्री भए पनि देउवाले नै प्रदेश सरकार चलाइरहेको चर्चा पनि नचलेको होइन ।
२८ माघमा आरजुले कांग्रेसको लम्कीचुहा नगर समितिको भवन उद्घाटन गरिन् । परराष्ट्रमन्त्री राणा प्रमुख अतिथि रहेको कार्यक्रममा मुख्यमन्त्री शाह पनि सहभागी थिए । तर, लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले मुख्यमन्त्री शाहलाई महत्त्व नदिएको मञ्चमै झल्किएको थियो ।

देउवालाई प्रमुख अतिथिका रूपमा फूलमाला लगाएकी मेयर शाहीले मुख्यमन्त्री शाहको बेवास्ता गरेकी थिइन् । अरूको अनुरोधपछि मेयर शाही मुख्यमन्त्री शाहलाई माला लगाइदिन गइन् । तर, मुख्यमन्त्रीले अस्वीकार गरिदिए । सार्वजनिक मञ्चमा आफूमाथि नियोजित रुपमा अपमान गरेको भन्दै मुख्यमन्त्री शाह रिसाएका थिए ।

प्रदेश नीति तथा योजना आयोगको सदस्य नियुक्त गर्न दिइएको दबाब र सार्वजनिक मञ्चमै भएको अपमानपछि मुख्यमन्त्री शाह सार्वजनिक मञ्चमा चर्को सुनिन थालेका छन् । प्रदेश नीति तथा योजना आयोगले गत सोमबार कञ्चनपुरमा आयोजना गरेको अर्धवार्षिक समीक्षामा शाहले मन्त्रीहरूलाई आफूसँग काम गर्न असहज भए राजीनामा दिए हुन्छ भनेका थिए ।

प्रकाशबहादुर देउवा गत साउनमै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न चाहन्थे । तर पार्टी सभापति शेरबहादुर देउवाले निर्णय नदिएपछि उनी रोकिए ।
उनले कर्मचारीहरूलाई समेत सोही खालको निर्देशन दिँदै सरुवा लिएर जानसक्ने चेतावनी दिएका थिए । ‘बजेट निर्माण गर्दा केही न केही मापदण्ड बनाएर अघि बढ्नुपर्छ । जनताका कामहरू सहज रुपमा हुन्छन् । त्यसका लागि जेल जानुपर्छ भने पनि म तयार छु’, शाहले भनेका थिए, ‘विभिन्न किसिमका तर्क दिएर कार्यान्वयनलाई बल्झाउने काम कसैले नगर्दिनुहोला । मसँग कुनै मन्त्री र राज्यमन्त्रीज्यूलाई असहज छ भने राजीनामा दिए हुन्छ । कर्मचारीहरूलाई असहज भएको छ भने सरुवा लिएर गए हुन्छ तर सुशासन र डेलिभरी दिने कुरामा कसैसँग सम्झौता हुँदैन ।’

कांग्रेस नेताहरूका अनुसार मुख्यमन्त्री शाहले सुरुदेखि नै प्रकाश देउवाको असहयोगका कारण काम गर्न असहज महसुस गर्दै आएका थिए । कांग्रेसभित्र शाह मुख्यमन्त्री भए पनि देउवाले नै प्रदेश सरकार चलाइरहेको चर्चा पनि नचलेको होइन ।

देउवाले कर्मचारी सरुवा, ऐन-कानुन निर्माण तथा योजना निर्माणमा आफू अनुकूलको निर्णय गर्न मुख्यमन्त्रीमाथि थप दबाब बढाउन थालेपछि उनीहरूबीचको सम्बन्धमा चिसोपन आइरहेको थियो । जब उनले परराष्ट्र मन्त्री आरजुमार्फत नै दबाब बढाउन थाले त्यसपछि मुख्यमन्त्री शाह चिडिएको स्रोत बताउँछ ।

बायाँबाट क्रमश: प्रकाशबहादुर देउवा, पत्रकार हिमाल जोशी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, कमलबहादुर शाह र बहादुरसिंह थापा ।
देउवाको मुख्यमन्त्री बन्ने हतारोले थप समस्या

प्रकाशबहादुर देउवा गत साउनमै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न चाहन्थे । तर पार्टी सभापति शेरबहादुर देउवाले निर्णय नदिएपछि उनी रोकिए ।

शाह दोस्रो पटक एमालेको समर्थनमा २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनकै नेतृत्वकै सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री भइसकेका देउवा त्यसपछि भने सरकारमा सहभागी भएनन् ।

त्यतिबेला शाह स्वयं देउवालाई मुख्यमन्त्री बनाउने पक्षमा थिए । संसदीय दलको नेताबाट राजीनामा दिएर देउवालाई चयन गर्ने मुडमा पुगिसकेका शाह एकाएक रोकिएका थिए ।

कांग्रेस नेता एनपी साउदको चाहना बहादुरसिंह थापालाई मुख्यमन्त्री बनाउने थियो । बहादुरसिंह मुख्यमन्त्री नहुने अवस्था देखेपछि साउदले समेत शाहलाई समर्थन गरे र त्यसपछि पार्टी सभापति शेरबहादुर देउवा भतिजा देउवालाई मुख्यमन्त्री बनाउनबाट पछि हटेका थिए ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक बिक्रम धामी भने बाहिर चलेका चर्चा हल्ला मात्र भएको दाबी गर्छन् ।
‘कमलबहादुर शाह त्यो बेला प्रकाश देउवालाई मुख्यमन्त्री बनाउन सकारात्मक देखिनुभएको थियो तर एनपी दाइले बहादुर थापाको सम्भावना नदेखेपछि उहाँलाई समर्थन गर्ने अवस्था बन्यो,’ कांग्रेस सुदूरपश्चिमका एक नेता भन्छन्, ‘त्यसपछि देउवा दाइले प्रकाशलाई ब्याक गर्नुभएको हो ।’

ती नेताको भनाइमा सभापति देउवाले त्यतिबेला एक वर्षपछि शाहलाई ब्याक गरेर प्रकाशलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए । देउवाको आश्वासन कार्यान्वयन हुन अझै चार महिना बाँकी छ।

तर, प्रकाशबहादुर देउवा भने चैतभित्रै मुख्यमन्त्री बन्ने दौडमा रहेको उनी निकट स्रोत बताउँछ । शाह भने तत्काल देउवालाई मुख्यमन्त्री पद छाडिहाल्ने मुडमा छैनन् । देउवाको मुख्यमन्त्री बन्ने हतारोकै उपज कांग्रेसभित्रको खटपट छरपस्ट भएको एक जना प्रदेश सभा सदस्य बताउँछन् ।

‘सुदूरपश्चिममा गुटको राजनीति गरिरहेका देउवा जसरी पनि चैत्र भित्र मुख्यमन्त्री बन्ने योजनामा लागेका देखिन्छन् तर शाह छाड्ने पक्षमा छैनन्,’ ती सांसदले भने, ‘तर शेरबहादुर दाइ र आरजु भाउजुले नचाहेसम्म प्रकाशकै जोडबलले केही हुनेवाला छैन ।’ मुख्यमन्त्री कमलबहादुर शाह निकट स्रोत भने मुख्यमन्त्रीमा आलोपालो गर्ने कुनै खालको समझदारी नभएको दाबी गर्दै आएको छ ।

प्रकाशबहादुर देउवाबाट असहयोग हुन थालेपछि सत्ता साझेदार दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टीलाई नचिढाएर अघि बढ्ने रणनीतिमा मुख्यमन्त्री शाह देखिन्छन् । ‘प्रकाश देउवाले केही मन्त्री र कर्मचारी प्रयोग गरी शाहलाई असफल बनाएर आफू मुख्यमन्त्री बन्ने इच्छा राखेको साँचो हो । मुख्यमन्त्रीका पछिल्ला अभिव्यक्ति पनि त्यसकै उपज हुन्,’ कांग्रेसका एक प्रदेश सभा सदस्यले भने ।

देउवा निकट नेताहरू भने मुख्यमन्त्री बन्ने हतारोले नभएर मुख्यमन्त्रीले महत्त्व नदिएका कारण समस्या सिर्जना भएको दाबी गर्दै आएका छन् । खासगरी प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका दल नेता राजेन्द्र सिंह रावललाई मुख्यमन्त्रीले आवश्यकताभन्दा बढी महत्त्व दिएकोमा देउवा असन्तुष्ट रहेको एकथरीको दाबी छ ।

तर, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक बिक्रम धामी भने बाहिर चलेका चर्चा हल्ला मात्र भएको दाबी गर्छन् । ‘कांग्रेसभित्र त्यस्तो खालको कुनै विवाद छैन । मुख्यमन्त्री र प्रकाश देउवाका विषयमा चलेका चर्चा हल्ला मात्र हुन्,’ धामीले भने, ‘बाहिर सुनिएजस्तो तत्काल केही हुँदैन । सबैलाई हल्लाका पछि नलाग्न अनुरोध गर्छु ।’

अनलाईन खबर

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.